काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने प्रस्ताव आएपछि त्यसबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।
मन्त्रालयले सरोकारवाला निकायलाई भोलि सोमबार बिहान ८ बजे बैठकमा सहभागी हुन बोलाएको छ ।
विद्यालयका बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरूप (यूके भेरियन्ट) संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तिमा ३ हप्तासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।
विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बैठक बोलाएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । ‘भोलिको छलफलबाट कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निस्किन्छ,’ सापकोटाले भने ।
सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारीमा रहेको भन्दै प्याब्सनले विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टीका पुरी र महासचिव कुमार घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने राय दिएको छ ।
कोरोना संक्रमणको दर देशभर नहुने भएकाले अत्यन्तै आवश्यक भए सम्बन्धिन्त विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न र अन्य ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिन प्याब्सनले सरकारलाई अनुरोध गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।