काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।
यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।
“अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।”
उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।
नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए ।
चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।