काठमाडौं – गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन् । पटक–पटक यौन शोषण गरेको उनको दाबी थियो । केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परेका थिए ।
मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो । आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको बयान उनले अदालतमा दिइन् ।
उनलाई गत भदौ १४ गते अदालतले दोषी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो । युवतीमाथि १ महिना कैद र १ हजार ५०० रुपैयाँ जरिवानाको फैसला भयो ।
गत असोजमा वीरेन्द्रनगर नगरपालिकाका १ कर्मचारीमाथि झूटो आरोप लगाउने ३७ वर्षीया महिलालाई पनि अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले गत सोमवार उनलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
होटलमा बोलाएर कर्मचारीले बलात्कार गरेको उनले आरोप लगाएकी थिइन् तर पछि उनले अदालतमा बयान फेरेकी थिइन् ।
झूटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर गर्दै महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले बताएका छन् । पछिल्लो समय कानूनको आडमा रिसइबी साध्न केही महिलाले झूटो आरोप लगाउने गरेको उनले बताए ।
‘कानूनको फाइदा उठाएर लेनदेनलगायत विषयमा कुरा नमिलेपछि आरोप लगाउने प्रवृत्ति देखियो,’ उनले भने । पछिल्लो ३ वर्षमा जिल्ला अदालतमा २४३ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्, जसमध्ये ७६ मुद्दा फर्स्योट हुन बाँकी छ ।
चालू आर्थिक वर्षमा जबरजस्ती करणीका ४८ मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ ।
पछिल्लो समय पैसाको प्रलोभनमा परी मुद्दा दर्ता गर्ने र पुनः पैसाकै लोभमा बयान फेर्ने प्रवृत्ति बढेको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।