काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी तथा खानेपानी मन्त्री बिना मगरको नाममा हिजोआज एउटा ट्विटर ह्यान्डल खुलेको छ ।
त्यो ट्विटर ह्यान्डल नक्कली भएको भनेर मन्त्री मगरको सचिवालयले भने पनि त्यसका ट्विट हुने विषयका कारण मन्त्री मगरलाई ‘टेन्सन’ हुन्छ ।
त्यस ह्यान्डलबाट खानेपानी मन्त्रालय तथा समसामयिक राजनीतिका विभिन्न विषयमाथि टीका–टिप्पणी गरिएका हुन्छन् । धेरै दिनसम्म ट्विटर प्रयोगकर्ताले त्यो एकाउन्ट मन्त्री मगरकै हो भन्ने ठानेका थिए । तर गत बुधवार मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठले ट्विटर एकाउन्ट मन्त्री मगरको नभएको र भ्रममा नपर्न अनुरोध गरे ।
त्यो नक्कली एकाउन्ट बन्द गराइदिन नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको थियो । तर त्यसपछि पनि त्यस एकाउन्ट भने सक्रिय नै छ ।
सामाजिक सञ्जालमा ‘फेक एकाउन्ट’बाट गायिका रचना रिमाल पनि दिक्क छिन् । उनको नाममा पनि दर्जनौं फेक एकाउन्ट सक्रिय छन् । गायिका रिमालले विभिन्न माध्यममा दिएका अन्तर्वार्ताहरूमा फेसबुक र ट्विटरका फेक अकाउन्टहरूका कारण आफू बेलाबखत अप्ठ्यारो परेको बताएकी छन् ।
सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी बनाइएका असंख्य फेक एकाउन्ट विशेषगरी कलाकार, राजनीतिकर्मी तथा चर्चित व्यक्तित्वको नाममा बनाइएका यस्ता फेक एकाउन्टहरूले समाजमा दिग्भ्रमित पारिरहेका छन् । नेता, कलाकारका मात्र हैन, सर्वसाधारणका समेत फेक एकाउन्ट बनेका छन् ।
त्यस्ता नक्कली एकाउन्टबाट सम्प्रेषण हुने दूषित सामग्रीका कारण सक्कली व्यक्तिलाई अप्ठ्यारो पार्ने गरेको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका नाममा खोलिएका फेक एकाउन्टहरूबाट अश्लील सामग्री सम्प्रेषण भइरहेका हुन्छन् । कतिपय व्यक्तिको फोटो र नाम राखी खोलिएका सामाजिक सञ्जालका एकाउन्टबारे व्यक्ति स्वयं अनभिज्ञ रहने गरेका छन् ।
व्यक्तिले आफ्नो नाममा अरुले फेक एकाउन्ट खोलेको थाहा पाएमा भने तुरुन्त प्रहरीमा उजुरी गर्न नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले अनुरोध गरे । साइबर ब्यूरोले हालसम्म बन्द गराउन उजुरी परेका १ हजारभन्दा बढी अनधिकृत एकाउन्टहरू बन्द गराइसकेको उनले जानकारी दिए ।
फेक एकाउन्टहरूले भ्रम फैलाउने मात्र नभई व्यक्तिलाई गालीबेइज्जती गर्ने, अश्लीलता फैलाउने, दुर्व्यवहार गर्ने, ठगी गर्ने, धम्काउने, ब्ल्याकमेल गर्नेजस्ता क्रियाकलापमा समेत प्रयोग भएको पाइएको एसएसपी अर्यालले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।