काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण घटाउँदै संक्रमणमा कमी आएको देखाउँदै विद्यालय खुला गर्ने बाटो खोलेको छ ।
सरकारले स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्नसक्ने मापदण्ड बनाएपछि कोरोनाको उच्च जोखिम रहेको राजधानी काठमाडौं उपत्यकामै विद्यालय खोलेर पठनपाठन सञ्चालन गर्न थालिएको छ ।
धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कूल, कलेज सञ्चालन भएका छन् । ओली सरकारले बाटो खोलेपछि ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थीहरू घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
स्कूल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उनले बताए । हालको अवस्थामा सबै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनले बताए ।
सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले जानकारी दिए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कूल, कलेज सञ्चालन हुन थालेका बताए । कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उनले जानकारी दिए ।
कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर २ सिफ्ट र जोर–बिजोर प्रणालीबाट सुरू भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिए । दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको उनले बताए ।
चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उनले बताए । सरकार पनि यसै योजनाका साथ अगाडि बढेको उनले जानकारी दिए । कक्षा सञ्चालन भएका ठाउँका विद्यार्थीहरू भौतिक रूपमा उपस्थित भएर पढ्न पाउँदा उत्साहित भएको अध्यक्ष पुरीले बताए ।
कोरोनाको महामारीमा पनि हालसम्म सामुदायिक विद्यालयका विद्यार्थीले ४०–६० र निजी क्षेत्रमा ७५ प्रतिशत विद्याथीले अनलाइन कक्षा लिएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने विषयमा छलफलमा रहेको बताएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान ढंगोल शैक्षिक संस्था सञ्चालन गर्नुपर्छ भन्नेमा धारणा बनाएको भए तापनि कसरी कुन मापदण्ड अपनाएर खोल्ने भन्ने विषयमा छलफल चलिरहेको र केही दिनमा निर्णयमा पुग्ने बताएका छन् । अबको कोरोनाको जोखिमलाई पनि सुक्ष्म तरिकाले हेरिरहेका उनले बताए ।
जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपाल कोरोना जोखिममै रहेको बताए । शैक्षिक संस्था सञ्चालन सँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अति नै जरुरी हुने उनको सुझाव रहेको छ । घरदेखि स्कूलसम्मको जाने र फर्कनसम्मको अवस्थामा बढी कसरी सुरक्षित हुन सकिन्छ भनेर सरकारले जारी गरेका मापदण्ड पालना गर्नु अनिवार्य जस्तै रहने उनले बताए ।
थोरै संख्यामा कक्षा सञ्चालन गर्ने, सिफ्ट वा पहिलाको भन्दा समय घटाएर अर्थात् कसरी सुरक्षित तरिकाले पढाउन सकिन्छ भनेर सचेत भएर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
खाजा खाने समयमा पनि विद्यार्थीको भीडभाड हुने भएकाले त्यसमा पनि ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्यविद् डा. वन्तले बताए । सबै सचेत भएर स्वास्थ्यका मापदण्ड पाल्ना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले मापदण्ड पालना गरे मैरे लागि हो भन्ने सोच्यो भने सुरक्षित रहन सकिने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।