काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक मंसिर २८ गते बोलाइएको छ ।
सदस्यहरूलाई ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीवार बैठक बोलाइएको छ ।
बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् । अख्तियारको आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई प्रस्ताव गर्ने प्रधानमन्त्री ओलीको इच्छा रहेको स्रोतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित ३ पद, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित ५ पद, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित ५ पद, समावेशी आयोगमा अध्यक्षसहित ४ पद, आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित ५ पद, मधेशी आयोगमा ४ आयुक्त, थारु आयोगमा ४ आयुक्त, मुस्लिम आयोगमा ४ आयुक्त र राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्षसहित ५ पद रिक्त रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।