काठमाडौं - काठमाडौ देशकै संघीय राजधानी हो । नेपालकै सबैभन्दा बढी जनसंख्या यहीँ बस्छन् । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा यहीँ छन् । अन्तर्राष्ट्रिय कूटनीतिक नियोग यहीँ छन् । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि काठमाडौंमै छ ।
अर्थात् देशकै महत्वपूर्ण सहर काठमाडौं महानगरका मेयर छन् विद्यासुन्दर शाक्य । तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर शाक्यको नाम निकै सुन्दर छ । त्यही नामलाई राम्रो भन्ठानेर काठमाडौंका मतदाताले उनलाई चुनावमा जितेर पनि पठाए ।
चुनावका बेला विद्यासुन्दरले ठूल्ठूला सपना बाँडेका थिए । उनले १०१ घोषणा सार्वजनिक गरेका थिए । तर, निर्वाचित भएर आएको साढे तीन वर्ष बितिसक्दा पनि उनले एउटै पनि घोषणा पूरा गरेका छैनन् ।
शाक्यले काठमाडौंलाई प्रदूषणमुक्त बनाउने, मेट्रो रेल कुदाउने, सडक चिल्ला र हरियाली पार्क बनाइने, फोहोर कतै देख्न नपाइने, काठमाडौंलाई हरित सहर बनाउने, काठमाडौंका ७० वर्षमाथिका वृद्धवृद्धालाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने, सडक मानवमुक्त बनाउने जस्ता घोषणा गरेका थिए । तर, अहिलेसम्म जनताले एउटा पनि त्यसको अनुभूति गर्न पाएका छैनन् ।
अहिले कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित बनाएको सहरमा काठमाडौं पर्छ । त्यसमा पनि महानगरमा ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । काठमाडौंवासी भोक र रोगले मरिरहेका छन् ।
कोरोनाका कारण धेरैले रोजगारी गुमाइरहेका छन् । विगत दुई महिनादेखि काठमाडौंका सडकमा भोकै भएका मानिसलाई विभिन्न समाजसेवाी संघसंस्थाले खाना खुवाइरहेका छन् । तर, काठमाडौं महानगरका प्रमुख शाक्य भने मूकदर्शक बनेका छन् ।
कतिसम्म भने अहिले सडकमा भोकालाई खानेकुरा दिइरहेको उनलाई पाच्य भएन । आफूलाई कोरोना हुँदा सोल्टी होटलको आइसोलेसनमा बस्ने, जनता भोकले खाना नपाएर मरिरहँदा महानगरको बेइज्जत भएको भन्दै त्यसलाई रोक्ने विद्यासुन्दरको नामैलाई लिएर अहिले जनताले आलोचना गर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।