काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ ।
सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।
सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।