काठमाडौं- अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवतजावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो।
अहिले परिस्थिति अनुकूल छैन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो। जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन्।
अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ। कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन्। गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म निषेधाज्ञा थपिएको छ।
राजधानी काठमाडौं सहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेज्ञाज्ञा जारी गरेको हो। यस बीचमा विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए। बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुँदैछन्।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ।
पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ।
एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन्। नेपालका दुई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन। नियमित अन्तर्राष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ।
त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ। सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो।
दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिनुभयो। विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उनले बताए।
विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रिय उडानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आवत जावत गर्थे। अन्तर्राष्ट्रियतर्फ आवागमन र प्रस्थान दुबै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थे। त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो। अहिले नियमित अन्तर्राष्ट्रिय उडान दैनिक दुईदेखि तीन वटा मात्रै हुनेछन्।
चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन्।
यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा खटिने कर्मचारीलाई, पिपिई, मास्क, स्यानिटाइजरको व्यवस्था गरिएको छ। जहाजबाट यात्रु ओर्लेपछि अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्नुपहिले आगमन कक्षको बाहिरपट्टि स्यानिटाइजर बुथ राखिएको छ।
यात्रुले भौतिक दूरीका साथ लाइनमा बसेर सेनिटाइज भई आगमन कक्षबाट भित्रिन्छ। अध्यागमन प्रक्रिया गर्नेक्रममा पनि बिचमा पनि स्यानिटाइजर प्रयोग, स्वास्थ्य डेस्कको प्रक्रिया पुरा गरेर मात्रै यात्रु विमानस्थलबाट बाहिरिनेछन्।
विमानस्थलले यात्रु आवत जावत गर्ने हरेक स्थानमा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाएको छ। अध्यागमनदेखि हेल्थ डेस्कको प्रक्रिया पालना गर्दा तथा शौचालय र अन्य स्थानमासमेत स्यानिटाइजरको व्यवस्था गरिएको छ।
यात्रुसँग प्रत्यक्ष साक्षात्कार हुने सबैखाले जनशक्तिलाई विमानस्थलले स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्था गरेको छ।
महामारीबाट बचेर सुरक्षित उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाका साथ सञ्चालनको तयारीमा छ।
विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप पनि बदलिएको छ।
विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तर्राष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्यभएको हो। पछिल्लो पटक विमानस्थलको नयाँ संरचना र उडान व्यवस्थापकीय तयारीबारे पर्यटनमन्त्री योगेश भट्टराईले निरन्तर अवलोकन र निर्देशन दिदैँ आएका छन्।
विमानस्थलबाट बाहिरिनेक्रममा आकर्षक अत्याधुनिक भौतिक संरचनाले विमानस्थलको सौन्दर्यता थपेको छ। अहिले विदेशबाट आउने यात्रुले टलक्क टल्केको चिटिक्क नयाँ भवनको बाटो भएर बाहिरिनेछन्।
यही भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ। अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवाप्रदायक कम्पनीले अन्तर्रष्ट्रिय उडान भर्दै आएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।