काठमाडौँ – प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुुडभरी (पौडेल) लाई मानिएको छ ।
कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ।
प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् ।
पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।
मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ । त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ । त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।