काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे भारत सरकारले पनि औपचारिक घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले नोभेम्बर २२ र २३ (मङ्सिर ६ र ७) मा भारतको राजकीय भ्रमण गर्ने जनाएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमण हो। उनी आइतबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। नोभेम्बर २३ मा भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक द्विपक्षीय वार्ता हुनेछ।
भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गरिनेछ।
भारतले व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा, जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटीलगायतका क्षेत्रमा नेपालसँगको सहकार्य विस्तार भइरहेको जनाएको छ। स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा पनि सहकार्य बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ।
भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपालसँगको सम्बन्धले विशेष महत्त्व पाएको उल्लेख गर्दै मन्त्रालयले प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको उच्चस्तरीय संवाद र मैत्रीपूर्ण सम्बन्धलाई थप निरन्तरता दिने जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।