काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नयाँ हवाई रुट, विद्युत् व्यापार र सीमा समस्या समाधानलाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन्।
आइतबारदेखि हुने भनिएको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा विश्वास बढाउने र नेपालको आर्थिक हित सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको जोड छ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँगको व्यापार घाटा घटाउन तथा नेपाली वस्तु र सेवाको निर्यात सहज बनाउन पहल गर्नुपर्ने बताए। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
त्यस्तै, प्रदीप ज्ञवाली र सुजाता कोइरालाले नयाँ हवाई रुट, जलविद्युत् आयोजना तथा आर्थिक साझेदारी विस्तारमा जोड दिए। उनीहरूका अनुसार हवाई रुटमा सहमति जुटे पर्यटन, व्यापार र नागरिकको आवतजावत विस्तारमा सहयोग पुग्नेछ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले पारवहन, सीमा विवाद र विद्युत् निर्यातका समस्या समाधान गर्नुपर्ने बताए। बङ्गलादेशमा नेपाली विद्युत् निर्यातका लागि भारतको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
विमला राई पौडेलले भने राजनीतिक मुद्दामा पर्याप्त गृहकार्य गर्नुपर्ने र व्यापार अवरोध तथा नेपाली बजारमा हुने अभावजस्ता जनजीवनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
पूर्वपरराष्ट्रमन्त्रीहरूको साझा सुझाव छ—प्रधानमन्त्री बालेनको भारत भ्रमण औपचारिकतामा सीमित नभई व्यापार, ऊर्जा, हवाई सम्पर्क र पूर्वाधारका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने अवसर बन्नुपर्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।