काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई प्रहरीले मंगलबार साधारण तारेखमा रिहा गरेको छ ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले रानाभाटले लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि नभएको बताए ।
रानाभाटले आफूले खोया हानेको नभई मकै खाएर फाल्दा भूलवश लामिछानेतिर गएको बयान प्रहरीमा दिएका छन् ।
गत ८ पुसमा पोखरामा आयोजित एक कार्यक्रममा लामिछानेले भाषण गरिरहेका बेला लमजुङको राइनास नगरपालिका–८ भाटगाउँका स्थायी बासिन्दा रानाभाटले खोया प्रहार गरेको समाचार बाहिरिएको थियो ।यद्यपि रविमाथि खोया प्रहार भएको भिडियो वा तस्बिर अहिलेसम्म सार्वजनिक भएको छैन ।
रविले खोयाले आफूलाई हानेको भन्दै भाषण गर्दा हातमा राखेपछि सबैले उनीमाथि खोया प्रहार भएको आकलन गरेका छन् ।
त्यसपछि प्रहरीले तत्काल रानाभाटलाई नियन्त्रणमा लिएकामा लामिछानेले उनलाई केही नगरी छाडिदिन आग्रह गरेका थिए ।तर, शान्ति भंग गरेको आरोपमा प्रहरीले उनलाई केही दिन हिरासतमा राखेको थियो ।
रानाभाट छुटेको र प्रहरीको अनुसन्धानले पनि खोया प्रहार नभएको भेटेएपछि यसलाई अहिले रविले जानाजान राजनीतिक स्टन्ट गरेको हो कि भन्ने अनुमान गरेका छन् ।बरु खोया काण्डले रवि र कान्तिपुरबीच ठूलो लडाइँ सुरु भएको छ ।
रविले आफूमाथि कान्तिपुरले खेलेको भन्दै स्टाटस राखेपछि रवि सहकारी ठगीमा जोडिएको समाचार कान्तिपुरले तीन दिनसम्म शृंखलाबद्ध छापेको थियो ।
जसविरुद्ध रविले जिल्ला अदालतमा १५१ रुपैयाँ क्षतिपूर्ति दाबी गरेर गाली बेइज्जती मुद्दा हालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।