काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा एमालेले जे जस्ता एजेन्डा उठाउँछ त्यसमै हो मा हो भन्नेबाहेक अर्को भूमिका नदेखिएको आराेप लाग्दै आएकाे छ ।
उसमाथि आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको समर्थककाे भनाइ छ । तर रास्वपाका सभापति रवि लामिछाने याे आराेप मान्न तयार छैनन् । उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले एमालेको पछिपछि नलागेको बताएका छन् ।
आफ्नो दललाई एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूसँग कुरा गर्दै उनले आफ्नो एजेन्डामा अगाडि बढिरहेको दाबी गरे ।
संसद् र बाहिर पनि रास्वपाले आफ्ना एजेन्डामा नै अघि बढ्ने लामिछानेको भनाइ थियो । उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए ।
पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेको भन्दै उनले आफ्नो निर्णयमा चलिरहेको प्रष्ट पारे ।
‘पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो । त्यो अनुसार गयौं । सरकारमा बस्न सकुन्जेल बस्यौं । जब त्यो सहमति टुट्यो त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,’ उनले थपे, ‘प्रतिपक्षमा एमाले ठूलो दल होला, तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ ।हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि हौं ।’
प्रतिपक्षको बेन्चमा सँगै हुँदा जनजीविकाका साझा मुद्दामा एमालेसँग कुरा मिल्न जाने तर एमालेको पछि रास्वपा नलागेको लामिछानेको भनाइ थियो ।
उनले आफू सरकारको स्थायित्वको पक्षमा रहेको पनि प्रस्टीकरण दिए । वैशाख १० को उपनिर्वाचनयता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै लामिछानेले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको बताए ।
‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ, त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं,’ उनले भने, ‘हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।