काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन सकिएको दुई वर्षसम्म पनि आफ्नो टिम जोगाउन सकेनन् ।
महाधिवेशनमा उनी सभापति र महामन्त्रीमा गगन थापा उठेका थिए । शेखर शेरबहादुर देउवासँग पराजित भए ।
थापाले महामन्त्रीको चुनाव जिते । तर दुई वर्ष नपुग्दै दुवै नेता आ–आफ्नो बाटोबाट अघि बढ्ने भएका छन् ।
डा. कोइरालाले मंगलबारका लागि बैठक डाकेका छन्। राष्ट्रियसभा निर्वाचन, आसन्न महासमिति बैठकलगायत विषयमा छलफल गर्न कोइरालाले आफू निकट सदस्यहरुलाई बैठकमा निम्ता दिएका छन्।
राष्ट्रियसभाको निर्वाचनमा आफ्नो टिम कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको शेखर निकट केन्द्रीय सदस्य मधु आचार्यले बताए ।
राष्ट्रियसभाको १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्ता गठबन्धनमा रहेको कांग्रेस तालमेल गरी निर्वाचनमा जाँदैछ।
गठबन्धनको सिट बाँडफाँटमा कांग्रेसले नौ सिट पाउने बताइएको छ। यसका लागि आफ्नो पक्षबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा कोइरालाले छलफल गर्ने उनी निकट नेताहरुले बताएका छन्।
बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो १ बजेका लागि तय गरिएको छ। तर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आमन्त्रण गरेका छैनन् ।
केही समययता महामन्त्री शर्मा विभिन्न जिल्लामा पुगिरहेका छन् । कांग्रेसले महामन्त्री थापाको नेतृत्वमा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा टोली खटाएको छ । त्यसैले थापा त्यसतर्फ जाने भएका छन् ।
कोइरालाले बोलाएको बैठकबाट थापासमेत अनभिज्ञ छन् । कोइराला निकट केही केन्द्रीय सदस्य अहिले महामन्त्री थापाविरुद्ध हात धोएर लागिपरेको छ ।
मिडिया र सामाजिक सञ्जालमा थापाविरुद्ध गालीगलौजको शैलीमा प्रस्तुत भइरहेका छन् ।
तर महामन्त्री थापाले कोइराला समूह छाडेकोको विषयमा केही सार्वजनिक गरेका छैनन् ।
मंगलबारको बैठकबारे जानकारी लिन थापाले कोइरालालाई फोन गरेका थिए । तर कोइरालाले रेस्पोन्स नगरेको बताइन्छ ।
महामन्त्री थापालाई इग्नोर गर्न खोज्नुले कोइराला भित्रभित्रै पार्टी सभापति शेरबहादुर देउवाको क्याम्पमा गइसकेको अनुमान गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।