काठमाडौं - मन्त्रिपरिषदको बिहीबारको बैठकले उपरथी अशोकराज सिग्देल रथीमा बढुवा गरेको छ ।
बैठकले सेनाका महासेनानीहरु कमल बानियाँ, राजाराम बस्नेत, रोजप्रताप राणा र सञ्जय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सेनाका बलाधिकृतरथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो ।
सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो ।
२०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको हायर कमान्ड कोर्समा समेत उनी प्रथम भएका थिए । हाल उनी सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् ।
सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।
रथीमा बढुवासँगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।