काठमाडौं - केही दिनअघि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लक्षित स्टाटस लेखे ।
उनले लेखेका थिए– ‘रबरको जुत्ता बनाउँछु म, त्यसमा पनि सुरुको अधिकार मेरो भनेर आउँछन् । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन् । हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।’
बालेनको यो स्टाटस रविलक्षित भएको धेरैको अनुमान छ । आफूले स्वतन्त्र भएर चुनाव जिते पनि त्यही स्वतन्त्रलाई रविले पार्टीका रूपमा खोलेको भन्दै बालेनले आक्रोश व्यक्त गरेका छन् ।
उनले स्वतन्त्र शब्दलाई प्लास्टिकको जस्तो नतन्किने बनाएको उल्लेख गरेका छन् । एक वर्षअघि जस्तो बालेन र रविबीच हार्दिक सम्बन्ध छैन ।
यस्तै, श्रमदानलाई देशभर चर्चित बनाएका हर्क केही अघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका प्रशंसक थिए ।
गत वर्ष रवि दोहोरो नागरिकता विवाद र राहदानी प्रकरणमा विवादमा पर्दा पनि हर्कले आफू रविसँगै भएको अभिव्यक्ति दिएका थिए ।
रविलाई चुनाव जिताउन उनले चितवनवासीलाई आह्वान पनि गरे । रवि पनि हर्कको श्रमदानलाई सहयोग गर्न धरान पुगेका थिए । दुवैबीच हार्दिक सम्बन्ध पनि थियो ।
तर अहिले हर्कराज पनि रविको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । हर्कले पहिलोपल्ट रविबाट केही नहुने घोषणा गरेका छन् ।
कतिसम्म भने रविले चुनावका बेला मलेसिया गएका युवा फर्काउँछु भन्थे । अहिले आफैं मलेसिया पुगेर तिनै नेपाली युवायुवतीलाई झोले बनाउन संगठन गर्न लागिपरेका छन् ।
हर्कले रविमा दुर्गा प्रसाई जति पनि नैतिकता र साहस नभएको भन्दै आलोचना गरेका छन् । रविमा कुनै योजना र भिजनसमेत नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
भ्रष्टाचारविरुद्ध पनि रविले केही नबोलेको भन्दै दुर्गा प्रसाई जति हिम्मत नभएको बताएका छन् ।
‘दुर्गा प्रसार्इले विदेशिएका युवा नेपाल फर्काउँछु भन्दै थे । रवि लामिछानेजीले पनि मलेसिया गएर युवा फर्काउँछु भनेछन् । झोला बोकाउने त होला नि योजना । अरु त केही भिजन देखिएन । फर्केर युवाले के गर्ने ? कसरी पेट र परिवार पाल्ने ? खोइ योजना ? बरु दुर्गा प्रसाईले भ्रष्टाचारविरुद्ध बोलिरहेका छन् । रवीजी त त्यो पनि बोल्न सक्दैनन्,’ हर्कले सोमबार सामाजिक सञ्जालमा भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।