काठमाडौं - माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जब जब प्रधानमन्त्री बन्छन्, तबतब नेपाली सेनामा किचलो र दुर्घटनाका संकेत देखिने गरेका छन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेपछि प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । तर नौ महिनाभित्रै प्रचण्ड सरकार ढल्यो ।
नेपाली सेनाभित्र चाहिनेभन्दा बढी खेल्न खोजेपछि प्रचण्डले पदबाटै राजीनामा दिनुपरेको थियो ।
त्यसबेला प्रचण्ड प्रधानमन्त्री र रामबहादु्र थापा बादल रक्षामन्त्री थिए ।
भर्खर भर्खर देशमा गणतन्त्र स्थापना भएको, माओवादी मूलधारको राजनीतिमा आएको, देशबाट राजतन्त्र विस्थापित भएको अवस्था थियो ।
आफूले जे चाह्यो त्यही हुन्छ भन्ने ठानेका प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर उनको ठाउँमा कुलबहादुर खड्कालाई सेनापति नियुक्त गरेका थिए ।
तर तत्कालीन राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको सिफारिस अस्वीकृत गरेपछि प्रचण्डले पदबाटै राजीनामा दिएर हिँडेका थिए ।
त्यो कटवाल काण्डले परिचित छ । अहिले प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री नियुक्त भएको झन्डै एक वर्ष पुग्न लागेको छ । तर यसबीचमा नेपाली सेना निकै विवादमा परेको छ ।
अहिले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का रक्षामन्त्री छन् । तर सेनामा प्रचण्डकै निर्णय हाबी हुने गरेको छ । सेनामा एकपछि अर्को ठूलो अधिकृतलाई विवादमा पारेर माओवादीले आफ्नो स्वार्थ पूरा गर्न खोजेको देखिन्छ ।
माओवादीका पूर्वलडाकु यामबहादुर अधिकारीलाई सेनापति बनाउन खोजेको भन्दै सेनामा भित्रभित्रै असन्तुष्टि चुलिएको छ । त्यसले निकट भविष्यमै सेनामा विद्रोह उठ्न सक्ने धेरैको अनुमान छ ।
सेनामा अहिले देखिएको विवादलाई लिएर कुनै पनि दलले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । जसकारण राजावादीको उक्साहटमा नेपाली सेनामा विद्रोह उत्पन्न गराउने प्रयास भइरहेको बुझिएको छ ।
चर्चित टिभी प्रस्तोता भुषण दाहालले सोमबार यसबारे संकेत गरेका छन् ।
‘प्रचण्डको राष्ट्रिय अगुवाइका बेला सेनाभित्र दोहोरिन सक्ने दुर्घटनाको संयोग कतै नजिकिएको त होइन ? अलि चिसो पसेको छ। राष्ट्रिय सुरक्षामै आँच आउन सक्ने संकेतहरु मडारिरहेका बेला, सेनाको आन्तरिक कैफियतको चाङभित्र, बाहिरी लोभीपापीहरुको सल्बलाहट, प्रम प्रचण्डलाई अनुभूति छ वा छैन ?,’ उनले प्रश्न गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।