अमरगढी - एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।
समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरे ।
‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन,’ उनले भने ।
ओलीले प्रचण्ड सरकार माओवादी नीतिमा हिँडेको टिप्पणी गर्दै कांग्रेसप्रति आक्रोश पोखे ।
‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला,’ उनले भने ।
उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए ।
‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन्,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।