काठमाडौं - अर्थ मन्त्रालय र भारतीय दूतावासको परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक बसेको छ ।
नेपालका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय टोलीको नेतृत्व नेपालका भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए ।
बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधिका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागिता थियो ।
विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचाअन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो ।
बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।
अर्थमन्त्री डा.महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारे ।
उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकताअनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।
भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ । र, निरन्तरता पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।