काठमाडौं - एमालेले बिहीबारदेखि मध्यपहाडी क्षेत्र केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु गरेको छ ।
एमालेले संकल्प यात्राको सुरुवातका लागि महाकाली किनारको सीमावर्ती बजार बैतडीको झुलाघाट रोजेको छ।
एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर यात्राको शुभारम्भ गरे ।
यात्राको उद्घाटनका लागि एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरु बैतडीमा जम्मा भएका थिए ।
जोडतोडका साथ यात्राको तयारी चलिरहँदा सुदूरपश्चिम प्रदेशकै अछाममा भने एमालेमा तनाव उत्पन्न भएको छ ।
यत्रो कार्यक्रम आयोजना गर्दा पनि एमालेले सुदूरपश्चिम प्रदेशकै प्रभावशाली नेता भीम रावललाई सम्झन चाहेन ।
रावलले मंगलबार नै सामाजिक सञ्जालमा यसबारे आफ्नो असन्तुष्टि जनाइसकेका छन् ।
पार्टीका शीर्ष नेता सबैको सहभागिता रहने उक्त संकल्प यात्राका क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने कार्यतालिका छ।
तर रावल उक्त कार्यक्रममा नहुने अवस्था आएपछि उनका समर्थकले विरोधका कार्यक्रम गर्नेसम्मको तयारी गरिरहेका छन्।
रावल निकट एमाले अछामका नेताहरू अहिले अब के गर्ने भन्ने आन्तरिक छलफलमा छन् ।
शनिबार विरोधका क्रियाकलाप हुन सक्ने बताइन्छ । अछाम पार्टीका नेता भीम रावलको गृहजिल्ला हो।
१०औं महाधिवेशनमा अध्यक्षका लागि ओलीको प्रतिस्पर्धी बनेयता रावल पार्टीमा निरन्तर ‘उपेक्षित’ बन्दै आएका छन्।
रावलले भोग्दै आएको ‘उपेक्षा’का कारण नेतृत्वप्रति असन्तुष्ट रहेका अछामका नेता कार्यकर्ताहरु यात्राको सन्दर्भलाई लिएर कसरी प्रस्तुत हुने भनेर तनावमा छन्।
सुदूरपश्चिम प्रदेशबाट पार्टीको विशेष अभियान सुरु हुँदा भीम रावल जस्तो नेतालाई खबर नगरिनु, नबोलाइनु, सल्लाह नगरिनुलाई एमालेमै पनि उचित मानिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।