काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले २०८४ को आमनिर्वाचनको तयारी अहिलेदेखि नै थालेको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउने दाबी गरेको एमालेले आजबाट बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु गरेको छ ।
यात्राको शुभारम्भ एमाले अध्यक्ष केपी ओलीले गरेका छन् ।
ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गरेका हुन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए ।
राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।
संकल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागिएको आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग ओलीको भेटघाट गर्ने कार्यक्रम छ । एमालेको यो अभियान पुस १ मा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।
एमालेले संकल्प यात्राका क्रममा एक हजारभन्दा बढी किलोमिटर यात्रा तय गर्ने र त्यसक्रममा मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा सयौं मान्छे भेला पार्दै मिसन ८४ अघि बढाउने रणनीति अख्तियार गरेको छ ।
अन्य दल आन्तरिक किचलोमै रुमल्लिरहेका बेला चार वर्षअघि नै आमनिर्वाचनको तयारीमा एमाले लाग्नुलाई नयाँ दलले दिने चुनौती मुख्य कारण मानिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।