काठमाडौं - भारतले सवा तीन करोड सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवन निर्माण गरेको छ ।
नवनिर्मित विद्यालय भवनको भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले औपचारिक उद्घाटन गरेका छन् ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवंप्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको थियो ।

भारत र नेपालबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।
जिल्ला समन्वय समिति, कपिलवस्तुमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो । भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए ।
साथै, उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए ।
श्रीवास्तवले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्री गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ ।
विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु लेभलसम्मको पढाइ हुन्छ । हाल यस विद्यालयको विद्यार्थी क्षमता १२०० भन्दा बढी छन् ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको दूतावासले जनाएको छ ।
जसमध्ये ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्, जसमा पाँचवटा परियोजना कपिलवस्तुमा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।