काठमाडौं - विवादास्पद चरित्र भएका दुर्गा प्रसाईं समूहले शुक्रबारदेखि काठमाडौंको तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको थियो ।
तर काठमाडौं प्रशासनले कुनै अनुमति नदिएको भन्दै रोकेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन।
भक्तपुरको पुरानो ठिमीस्थित घरबाट प्रसाईंलाई आन्दोलनमा जान प्रहरीले रोकेको छ।
त्यति मात्र होइन, प्रसाईका समर्थकलाई धमाधम पक्राउ गरेर हिरासतमा राखेको छ । दुर्गा प्रसाई समूहले बिहीबार बल्खुमा शान्तिपूर्ण आन्दोलन गरेको थियो ।
यद्यपि एकपटक युवा संघका कार्यकर्ता र अर्कोपटक सुरक्षाकर्मीसँग झडप भएको थियो ।
झडपमा दुई दर्जन घाइते भएका छन् । प्रसाई समूह सहर भित्र छिर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
यतिबेला प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादीकै उपाध्यक्ष हुन् ।
प्रसाई पनि विगतमा माओवादी थिए । केही समय उनी एमाले केन्द्रीय सदस्य भए ।
यद्यपि पछिल्लो समय उनको सहानुभूति माओवादीप्रति नै थियो । त्यसैले बिहीबारको प्रसाईको आन्दोलनमा माओवादीका धेरै मानिस सहभागी भएका थिए ।
अहिले शान्तिपूर्ण प्रदर्शनमा लागेको प्रसाईलाई हाउस एरेस्ट गरेर माओवादी नेतृत्वको सरकारले हिरो बनाइरहेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
‘खुला समाजमा आन्दोलन हुने गर्छन् । शान्तिपूर्ण गराउन सरकारले स्थान तोकेर सहज गरिदिनुपर्छ। अगुवाइ गर्नेलाई घरबाटै निस्कन नदिनु व्यवस्थाको बदनामी गराउनु हो,’ वरिष्ठ पत्रकार नारायण वाग्ले लेख्छन् ।
अर्का पत्रकार नारायण अमृतले प्रसाईलाई हिरो बनाउन स्वयं सरकार नै लागिपरेको त छैन भन्दै प्रश्न गर्छन् ।
‘विचार र व्यवहारमा मतमतान्तर हुनसक्छ। तर कसैलाई पनि विरोध प्रर्दशन गर्ने अधिकारबाट बञ्चित गर्नु लोकतान्त्रिक राज्यको चरित्र होइन। यस्तै हर्कत र गैरलोकतान्त्रिक व्यवहारका कारण दुर्गा प्रसाईलाई हिरो बनाउन स्वयं सरकार त लागेको छैन ? एउटा सोचनीय प्रश्न,’ अमृतले लेखेका छन् ।
प्रसाईलाई हिरो बनाउन अहिलेको सरकारले कुनै कसर बाँकी नराखेको सामाजिक सञ्जाल प्रयोगकर्ता विश्वदिप लामिछानेको आशंका छ ।
‘जे होस् दुर्गा प्रसाईलाई हिरो बनाउन सरकारले कुनै कसर छोडेको छैन। दुर्गा प्रसाईले हिसांत्मक आन्दोलन नगरेसम्म उस्को आन्दोलन जायज नै हुन्छ होला हैन र लोकतन्त्रका ठेकदारहरु ?’ विश्वदीप लेख्छन् ।
लेखक सञ्जीव कार्की स्वतन्त्रतापूर्वक विरोध र असहमतिका जुनसुकै कार्यक्रम गर्न दिनुपर्ने धारणा राख्छन् ।
‘दुर्गा प्रसाईलाई घरमै नजरबन्द गरिनु गलत हो ।शान्तिपूर्ण कार्यक्रम गरुन्जेल उनलाई स्वतन्त्रतापूर्वक विरोध र असहमतिका जुनसुकै कार्यक्रम गर्न दिनुपर्छ । अराजक भए मात्र नियन्त्रणमा लिनु वान्छनीय हुन्छ । अन्यथा प्रत्युत्पादक बन्नेछ स्थिति । नागरिकको विरोधको हक सुनिश्चित हुन्छ भनेर नै गणतन्त्र ल्याउन योगदान गरिएको हो,’ कार्की लेख्छन् ।
पत्रकार गजेन्द्र बुढाथोकी पनि सरकारले जबर्जस्त प्रसाईलाई हिरो बनाउन लागेको आशंका गर्छन् ।
‘दुर्गा प्रसाईंलाई सरकारले नै जबर्जस्ती हिरो बनाउनतिर लाग्यो,’ उनले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।