काठमाडौं - सरकारले सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले बिहीबार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० पारित गरेको छ ।
सामाजिक सञ्जालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्रीमाथि प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।
निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । जसका लागि सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण प्रतिष्ठित व्यक्तित्वको मानमर्दन गर्ने, चरित्रहत्या गर्ने, गालीगलौन गर्ने प्रवृत्ति बढेपछि सरकारले कडाई गर्न लागेको हो ।
यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप
१. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) सिर्जना गर्न,
२. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु सेयर गर्ने वा टिप्पणी व्यक्त गर्न वा कल गर्न,
३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न,
४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न,
५. अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पिच मानिने कार्य गर्न (स्पष्टीकरणः हेट स्पिच भन्नाले पोस्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ,
६.डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न,
७.. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न, ८. अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न,
९. बालबालिकालाई हानि पुर्याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देहव्यापारजस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न,
१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न,
११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौज गर्ने, गलत सूचना सम्प्रेषण गर्नेजस्ता कार्य सम्झनुपर्छ),
१२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन, १३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न,
१४. आतंकवादसम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न,
१५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न,
१६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टरजस्ता कार्य गर्न,
१७. विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने,
१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न,
१९. प्रचलित कानुनले निषेध गरेका क्रियाकलापहरू नक्कल गर्न तथा सेयर गर्न,
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।