काठमाडौं - पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परि हालसम्म कम्तिमा १ सय ३६ जनाको मृत्यु भएको छ ।
यस्तै एक सय ६६जना घाइते भएका छन् । भुकम्पमा परि जाजरकोट र रुकुममा ठूलो क्षती भएको छ । जाजरकोटमा मात्र मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने रूकुममा कम्तिमा ३८ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रुकुममा ३८ बढीको मृत्यु भएको र एकसय बढी अस्पतालमा भर्ना भएको जानकारी दिए । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् ।
भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिएका छन्।
भुकम्पले जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३८ जनामध्ये २७ जनाको सनाखत भएको छ ।
भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–१४ बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । आठबीसकोट–१४ का मात्रै २७ जना छन् ।
त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका एक जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बालबालिकाहरु धेरै छन् । भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा पुरीएकाको उद्धार र राहतको कामलाईसमेत तिव्रता दिइएको छ । शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।