बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

धुर्मुस सुन्तली फाउन्डेसनकै पथमा श्वेताश्री फाउन्डेसन, माझी बस्ती उठिबास लाग्ने बाटोमा

धुर्मुस सुन्तली फाउन्डेसनकै पथमा श्वेताश्री फाउन्डेसन, माझी बस्ती उठिबास लाग्ने बाटोमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक १५ २०८०

  • 6.8K
    SHARES

  • धुर्मुस सुन्तली फाउन्डेसनकै पथमा श्वेताश्री फाउन्डेसन, माझी बस्ती उठिबास लाग्ने बाटोमा

    काठमाडौं - नेपालमा अर्काले जे गरेर चर्चामा आयो त्यसकै बाटो पछ्याउने चलन छ ।

    समाजसेवी बनेर कोही लोकप्रिय भयो भने त्यसकै सिको गर्ने । अभियन्ता बनेर चर्चित बने उसकै बाटोमा हिँड्ने । नागरिक अगुवा बनेर कोही चर्चामा आए उसलाई पछ्याउने । सक्ने काम होस् कि नहोस् अर्काको नक्कल गर्ने प्रवृत्ति सानोदेखि ठूला, नयाँदेखि पुराना सबैमा देखिएको छ ।

    अहिले यस्तै एउटा नयाँ घटना सार्वजनिक भएको छ । ऋण लिँदा बैंकसँग गरेको सम्झौताअनुसार अभिनेत्री श्वेताश्री फाउन्डेसनले किस्ता नतिर्दा सिन्धुपाल्चोकको सिंगो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र फाउन्डेसनको समेत रकमले चौतरा साँगाचोकगढी नगरपालिका–१४ मा माझी बस्ती निर्माण भएको थियो। तर, फाउन्डेसनले ऋणको किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले लिलामी सूचना निकालेको छ ।

    घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाई करोड रुपैयाँको साँवा तथा ब्याज लामो समयसम्म नपाएपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो।

    रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौताअनुसार ऋण प्रवाह भएको थियो। धितो भने माझी समुदायकै जग्गा राखिएको थियो। उच्च अदालत पाटनले बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो। २०७२ वैशाख १२ गतेको भूकम्पपछि सरकारले घरमा क्षति पुगेको हकमा प्रतिघर तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो। जसअनुसार पुनर्निर्माण प्राधिकरण गठन गरेर सहजीकरण भएको थियो। सिन्धुपाल्चोकमा ५३ घर रहेका माझी समुदायको बस्ती भने श्वेताश्री फाउन्डेसनले बनाउने घोषणा गरेको थियो।

    अभिनेत्री खड्काको उक्त फाउन्डेसनले खुला होमस्टेको अवधारणा भन्दै उक्त एकीकृत बस्ती निर्माण गरेको थियो। तर, अपेक्षित सहयोग जुट्न नसकेपछि फाउन्डेशनले बैंकबाट ऋण लिएर बस्ती निर्माण सम्पन्न गरेको थियो।

    तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो। पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो।

    बैंकको ऋण समेतले बस्ती निर्माण सम्पन्न भएको थियो। लामो समयसम्म सावा तथा ब्याज नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो। बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए।

    अभिनेत्री श्वेता खड्काले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनकै नक्कल गर्दै श्वेताश्री फाउन्डेसनमार्फत बस्ती निर्माण गरेकी थिइन् ।

    एकीकृत बस्ती निर्माण गर्ने भएपछि श्वेताले निकै चर्चा र लोकप्रियता हासिल गरिन् । जसले गर्दा उनको खेलेका चलचित्र चल्न मद्दत पनि पुग्यो । तर अहिले आएर श्वेताश्री फाउन्डेसनको वास्तविकता सार्वजनिक भएको छ ।

    जसरी धुर्मुस सुन्तली अहिले गुमनाम भएका छन्, श्वेता खड्काको हविगत पनि त्यही हो । धुर्मुस सुन्तली पनि सिन्धुपाल्चोक, काभ्रे, महोत्तरी र रौतहटमा बस्ती बसाएर चर्चामा आएका थिए ।

    भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने चक्करमा उनको लोकप्रियता शून्यमा पुग्यो । अर्काले दिएको पैसाले समाजसेवा गर्छु भन्नेको अवस्था कस्तो हुन्छ भन्ने उदाहरण धुर्मुस सुन्तलीपछि श्वेता खड्का बनेकी छन् ।

    श्वेता खड्काले गरिवका भावनामाथि खेलेर समाजसेवी हुने ढोंग रच्दा ६० घर माझी परिवारको बिचल्ली हुने भएको छ । अब बिना कामका फाउण्डेशन दर्ता रोक्न जरुरी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक १५ २०८०११:०८:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend