काठमाडौं - राष्ट्रपतिबाट आममाफी पाएर छुटेका अर्का व्यक्ति अपहरण र ज्यान मुद्दामा पक्राउ परेको घटनाले राष्ट्रपति रामचन्द्र पौडेलकै साखमा अर्को धक्का लागेको छ ।
एकपछि अर्काे घटनामा शीतल निवाससँगै जोडिएर आएपछि राष्ट्रपतीय संस्थाको इज्जतमै धक्का लागेको हो । राष्ट्रपति पौडेल ज्यानमुद्दामा सजाय भुक्तान गरिरहेका नेपालगन्जका योगराज ढकाल अर्थात् रिगललाई आममाफी दिएपछि विवादमा तानिएका थिए । रिगललाई आममाफीविरुद्ध अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
केही हप्ताअघि राष्ट्रपतिबाटै आममाफी पाएका एक व्यक्तिले रुकुममा एक महिलाको हत्या गरेको घटना सार्वजनिक भएको थियो । पछिल्लोपटक गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।
नौ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका–१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो ।
कात्तिक १३ गते दिउँसो १२ बजे उनले सुवेदीलाई फोन गरी भरतपुर अस्पतालको नयाँ गेट अगाडि पैसा लिएर आउन भनेका थिए । पैसा लिंदै गर्दा प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको विशेष टोलीले थापालाई पक्राउ गरेको हो ।
पटकपटक आपराधिक गतिविधिमा संलग्न भई नौ वर्ष कैद सजाय पाएका थापा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद छुट पाई जेलबाट रिहा भएका थिए ।
जेलबाट छुटेको पाँच महिना नपुग्दै अपहरण गरी ज्यान मार्ने धम्की दिने घटनामा थापा संलग्न भएका हुन् । राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति एकपछि अर्को आपराधिक घटनामा मुछिएपछि अब गृह मन्त्रालयले गर्ने निर्णयप्रति शीतल निवासले क्रस चेक गर्नुपर्ने अवस्था आएको विज्ञहरुको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।