कपिलवस्तु - नेपाली कांग्रेस कपिलवस्तु–३ मा महासमिति सदस्य छनोटमा धाँधली भएपछि पुनः निर्वाचनको मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी भएको छ ।
पार्टी विधानविपरीत महासमिति सदस्य चयन गरिएको भन्दै आधा दर्जन महाधिवेशन प्रतिनिधिले पुनर्निर्वाचनको माग गरेका छन् ।
कांग्रेसको १४ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरी , बैठक नै नबोलाई केन्द्रीय सदस्य रूपा विकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनोट गरेको जानकारी पाइएको भन्दै उनीहरूले पुनः महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधानविपरीत सिफारिस गरेको निवेदनमा उल्लेख छ ।
पार्टी कार्यालयमा उजुरी हाल्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, नैनकला रेग्मी, प्यारमोहम्मद मिया, राधिका मालीलगायत छन् ।
उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले टिकट वितरणमा आकांक्षीहरूसँग पैसा लिएको भन्दै आवश्यक परे प्रमाण पेस गर्ने पनि स्पष्ट पारेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।