काठमाडौं - चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा गायब छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्स सार्वजनिक गरेको थियो ।
२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेको थियो।
तर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरिएको चुच्चे नक्साबारे नेपाल सरकारले अहिलेसम्म पनि कुनै देशलाई जानकारी नगराएको पाइएको छ ।
सोही कारण चीनले निकालेको नक्सामा नेपाली भूभाग गायब भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा पत्राचारको रेकर्ड नभेटिएको जानकारी दिए ।
भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए ।
संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रहरूलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बोलाएको हो ।
तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पत्राचार गरिएको दाबी गरेको विषय पनि संसदीय समितिमा उठेको छ ।
चीनले निकालेको नक्सा आफैं विवादमा परेको छ । चीनको नक्साबारे नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतले आपत्ति जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।