काठमाडौं - भारतमा केही दिनपछि जी–२० शिखर सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा विश्वका चर्चित नेताहरू सहभागी हुँदैछन् ।
सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार भारत आउँदैछन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
बाइडेनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन् ।
शुक्रबार बाइडेन भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतबार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।
अमेरिकाका राष्ट्रपति बाइडेन जस्ता विश्व नेता सहभागी हुन लागेको शिखर सम्मेलनमा रुस र चीनका राष्ट्रपति नआउने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम समयमा नआउने बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै जी–२० मा सहभागी हुने विषयमा असमर्थता जनाएका थिए । रुसका विदेशमन्त्री सर्गेई लावरोभले देशको प्रतिनिधित्व गर्नेछन् ।
चीनको विदेश मन्त्रालयले राष्ट्रपति सी जिनपिङको स्थानमा प्रधानमन्त्री ली छ्याङले जी–२० शिखर सम्मेलनमा भाग लिने जानकारी दिएको छ । पछिल्लो समय भारत विश्वको उदीयमान देशको रूपमा अगाडि आएको छ ।
भारतले नै आयोजना गरेको शिखर सम्मेलनमा सी जिन पिङ र भ्लादिमिर पुटिन नआउँदा ती देशलाई नै घाटा लाग्ने भारतीय पक्षले अनुमान गरेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले एएनआईसँग कुराकानीमा भनेका छन्, ‘जी–२० मा अलग–अलग अवसरमा यस्ता केही राष्ट्रपति वा प्रधानमन्त्री रहेका छन्, जो केही कारणले शिखर सम्मेलनमा भाग लिन पुगेनन् । तर ती देशका प्रतिनिधिले बैठकमा आफ्नो पक्ष राख्छन् । मलाई लाग्छ बैठकमा सबैजना निकै गम्भीरताका साथ सामेल हुँदैछन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।