काठमाडौं - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जग्गा फिर्ता प्रयोजनबाहेक २३८ जनालाई मात्रै सरकारी लिखत कीर्ते र संगठित अपराधमा प्रतिवादी बनाएको छ ।
चार चरणमा गरेर ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको सीआईबीको निष्कर्ष छ । ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल, बाबुराम भट्टराई, लीलामणि पौड्याल, सचिव कृष्ण राउतलाई साक्षी मात्र बनाइएको छ । उनीहरूलाई प्रतिवादी बनाइएन ।
तर विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, सञ्जय साहलगायतलाई प्रतिवादी बनाइएको छ । पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगोलगायत पनि यसमा प्रतिवादी छन् ।
माओवादी निकट पूर्वमुख्यसचिव पौड्याल र सचिव राउतलाई भने उन्मुक्ति दिइएको छ । ६० किलो सुन तस्करी र नौ किलो सुन गायब प्रकरणमा मुछिएका माओवादी नेताहरूलाई भने अनुसन्धानको दायरामै ल्याइएन ।
नौ किलो सुन गायब प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका दुई छोरा राहुल र निर्मलसमेत संलग्न रहेको भनेर सिआईबीले प्रतिवेदन बुझाए पनि उनीहरूविरुद्ध मुद्दा चलाइएन ।
त्यस्तै, ६० किलो सुन तस्करीका मुख्य व्यक्ति भनिएका दावा छिरिङको माओवादीका नेताहरू वर्षमान पुन, ओनसरी घर्ती, नन्दबहादुर पुन, दीपेश पुनलगायतसँग हार्दिक सम्बन्ध रहेकाले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग उठ्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य डिजाइनर नै माओवादीका सानु भण्डारी हुन् ।
उनैले खेलोफड्को गरेर बिचौलियाको सम्बन्ध विभिन्न दलका नेतासम्म पुर्याएका थिए । तर जेल हाल्ने बेला नाम मुछिएकै भरमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीलगायतलाई हालियो ।
मंसिरको आमनिर्वाचनलगत्तै नयाँ सरकार गठन गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किन प्रधानमन्त्री बन्न मरिहत्ते गरेका रहेछन् भन्ने बल्ल रहस्य खुल्दै गएको छ ।
विभिन्न भ्रष्टाचार काण्डमा आफ्नो पार्टीका नेताहरू जेलमा कोचिने डरले प्रचण्डले भएको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री भएको तथ्य खुलेको हो ।
एमालेलगायत दलको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड पछि पुरानै गठबन्धनमा फर्केका थिए । अहिले संघीय सरकारदेखि प्रदेश सरकारमा माओवादीकै हालीमुहाली छ । प्रचण्डले अनेक तिकडम गरेर गृहमन्त्रीमा आफ्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ल्याए ।
अहिले श्रेष्ठले माओवादीका नेतालाई छाडेर कांग्रेस, एमालेलगायत दलका नेतालाई विभिन्न काण्डमा मुछेर जेल हालेका छन् । तर माओवादीका नेताहरूलाई भने उन्मुक्ति दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।