काठमाडौं - नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणबारे पहिलोपटक मुख खोलेका छन् ।
उनले एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट जवाफ नदिएको बताउँदै उनीमाथि नै आशंका गरेका छन् ।
बिहीबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा नेता कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री प्रचण्डकै संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गरे ।
बरामद सुनको अनुसन्धानमा सीआईबीलाई संलग्नता नगराइनु, राजश्व अनुसन्धान विभागलाई मात्रै जिम्मा दिइनु र सुन बरामद हुनु साताअघि भन्सार कार्यालयको महानिर्देशक नवराज ढुंगाना प्रचण्डको पीए हुनुले थप आशंका उब्जिएको कोइरालाले बताए ।
‘सुनकाण्डको अनुसन्धानमा सीआईबीलाई सहभागी गराइएको छैन। राजश्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरिरहेको छ। सुन बरामद हुनु साताअघि भन्सार विभागको डीजी प्रधानमन्त्रीको पीए हुनुले थप आशंका उब्जिएको छ,’ उनले भने ।
सीआईबीलाई संलग्नता नगराई महानिर्देशक ढुंगानाकै नेतृत्वमा सुन तस्करी प्रकरणमा अनुसन्धान हुँदा दोषी उम्कन सक्ने उनको भनाइ छ। ढुंगाना अहिलेसम्म पोस्टिङ भएका सबै कार्यालयमा विवादमा परेका छन् ।
भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरु मुछिएपछि अनुसन्धान बीचैमा रोकिने गरेको कोइरालाले बताए । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण आउने र त्यसले सुन तस्करी प्रकरणको अनुसन्धान ओझेलमा पर्ने दावी गरे।
सुनकाण्डमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा, उपमहासचिव वर्षमान पुनलगायत मुछिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठकै पनि संलग्नता हुन सक्ने भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।