काठमाडौं - माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौं महानगरपालिकाको शिक्षा समन्वय शाखामा लगाएको ताला शुक्रबार बिहान फोडिएको छ ।
महानगर प्रमुख बालेन्द्र साहको निर्देशनमा शुक्रबार बिहान नगर प्रहरीले महानगरमा लागेको ताला फोडिएको हो । बालेनले विद्यालय पढ्ने ठाउँ भएको र विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म पनि गर्न नसकिने भन्दै ताला तोडेको जानकारी दिएका छन् ।
उनले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध हो भन्दै महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरेको उल्लेख गरेका छन् ।
‘‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको छौँ,’ उनले सामाजिक सञ्जालमार्फत ताला फोरिएको भिडियोसहित स्टाटस लेखेका छन् ।
बालेनले केही दिनअघि काठमाडौं महानगरभित्रका सामुदायिक स्कुलमा राजनीतिक गतिविधि गर्न रोक लगाउने निर्णय गरेका थिए । उनको सो निर्णयलगत्तै अखिल क्रान्तिकारीले महानगरको शिक्षा शाखामा ताला लगाएको हो ।
माओवादी पार्टीदेखि विद्यार्थी संगठन अहिले काठमाडौं महानगर प्रमुखसँग सिंगौरी खेल्न लागेका छन् । तर बालेनले माओवादीका हरेक अस्त्र विफल पार्ने रणनीति अख्तियार गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।