काठमाडौं - यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) चर्चामा छन् । दुई सय वर्षअघिको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तामा राखेको विषयले उनी चर्चामा आएका हुन् ।
बिहीबार बालेनको कार्यकक्षमा राखिएको भित्ते नक्साको बारेमा उनी आफैं र काठमाडौं महानगरपालिकाले आधिकारिक रूपमा केही बोलेका छैनन् ।
ग्रेटर नेपालको नक्साको विषयले नेपाली समाज दुई ध्रुवमा बाँडिएको छ । सुगौली सन्धिभन्दा अघिको नेपाल पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म फैलिएको थियो । दक्षिणमा कोलकात्तासम्म नेपालको सिमाना थियो । सोही नक्सा अहिले सबै सरकारी कार्यालयमा राख्नुपर्ने आवाज उठेको छ ।
भारतले आफ्नो नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनी र विराटनगरको समेटिएको मौर्यकालीन नक्सा राखेको विरोधमा बालेनले ग्रेटर नेपालको नक्सा राखेको भनिएको छ । यद्यपि उनी आफैंले केही बोलेका छैनन् ।
भारतको बैंगलोरबाट फर्केपछि बालेनले यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्लान् नै । तर अहिले उनको भित्ते नक्सा टिकटक र युट्युबमा हिट छ । जसपाले बालेनको यो हर्कतको विरोध गरेको छ ।
जसपा प्रवक्ता मनिष सुमनले काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर मेयर बालेनले मूर्खता देखाएको आरोप लगाएका छन् ।
‘यो बालेनजीको मूर्खता हो । उहाँले टिट फर ट्याट जस्तो गरी केटौले व्यवहार गर्नुभएको छ । यो कसैलाई जिस्काउने धृष्टता हुन्छ । यो उहाँको बालापन हो । ऐतिहासिक कुरा इतिहासमा राख्ने कुरा हो । भारतले पनि महाभारतकालको नक्सा राखेको हो । यो बालेको उमेरदोष हो । कसैले गर्यो भन्दैमा नक्सा बनाएर पर्खालमा टाँसिहाल्नु जरुरी छैन । पद र ओहदामा रहेको जिम्मेवार व्यक्तिलाई सुहाउँदैन । बालेन र हर्क साम्पाङजति अनुशासनहीन जनप्रतिनिधि मैले देखेको छैन । यो अजिब हर्कत हो । उट्पट्याङ हो,’ शुक्रबार रेडियो एनआरएनमा कुराकानी गर्दै सुमनले भने ।
चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेका थिए । विगतमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग थियो । तर, पछिपछि ती भूभागमा नेपाल सरकारको उपस्थिति देखिन छाड्यो ।
अहिले पनि ती क्षेत्रमा नेपाली नै बसोबास गर्छन् । सोही कारण ओलीले नेपालबाट गायब भएको चुच्चे नक्सालाई समेटेर नक्सा जारी गरे । जसलाई नेपालको संसदले दुई तिहाइ मतले पारित गरेको थियो ।
ओलीले आफ्नो प्रधानमन्त्रीकालको सबैभन्दा ठूलो उपलब्धि चुच्चे नक्सालाई देखाउँछन् । त्यसकै कारण ओली चर्चामा रहिरहने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।