काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुख अहिले साझा चुनाव चिन्ह भएको बताएका छन्। तनहुँ–१ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता गोविन्द भट्टराईलाई मत माग्न डुम्रेमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गोविन्द भट्टराईलाई रुख चिन्हमा मतदान गर्नुहोस्। रुख चिन्ह अब हामी सबैको साझा चिन्ह भएको छ,’ उनले भने।
दाहालले रास्वपा तर्फ लक्षित गर्दै आँधीहुरी र बतासबाट आत्तिन पर्ने अवस्था नरहेको बताए। ‘भ्रममा नपर्नुहोला, कहिलेकाहीं खहरे उर्लिएर आउँछ, तर छिट्टै सुक्छ । यसपटक खहरे सुक्नेवाला छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले तनहुँ–१ बाट निर्वाचित भएपछि भट्टराईलाई मन्त्री बनाउने उद्घोष समेत गरे। ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ,’ उनले भने।
उनले थपे, ‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ । उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो । अहिले फेरि गोविन्द भट्टराईकोलागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु। अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।