काठमाडौं - प्रदेश सरकारमा देखिएको किचलो नसकिएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्र सरकारलाई पूर्णता दिन नसक्ने देखिएको छ ।
बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र कोसी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने निश्चित भएपछि मात्रै नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केन्द्र सरकारलाई पूर्णता दिने संकेत देखिएको हो ।
यसकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार (आज) बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस सांसदलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पनि बिहीबार राति नै गण्डकी सरकारमा रहेका माओवादी मन्त्रीहरूलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका थिए ।
जसअनुसार माओवादीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ। बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।
केन्द्रमा सत्ता समीकरण बदलिएपछि माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो।
एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारमा माओवादी दुई मन्त्रीसहित सहभागी छ। यो प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छैन।
प्रदेशसभा निर्वाचनका क्रममा प्रचण्डले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। मंसिर ४ गतेको निर्वाचनमा पाण्डेले गोरखा १ बाटै प्रतिनिधिसभामा उठ्ने तयारी गरेका थिए ।
तर प्रचण्ड उठ्ने भएपछि कांग्रेसले आफ्नो उम्मेदवार नउठाई पाण्डेलाई प्रदेशमा उठाएको थियो । यसकारण पाण्डे नै मुख्यमन्त्री बन्ने सम्भावना धेरै छ ।
पहिलो कार्यकाल पाण्डे र दोस्रो कार्यकालमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्री बन्ने गरी सहमति हुने स्रोतले बतायो । तर माओवादीका नेताहरु भने अहिले नै चुमानलाई मुख्यमन्त्री बनाउनुपर्ने लबिइङमा छन् ।
जबकि कांग्रेसले तीन, माओवादीले दुई, एकीकृत समाजवादीले एक र जसपाले एक प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ। २२ सिटसहित एमाले दोस्रो, आठ सिटसहित माओवादी तेस्रो र दुई सिटसहित राप्रपा चौथो ठूलो दलका रुपमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।