काठमाडौं - प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन अब एक हप्ता मात्र बाँकी छ । अर्को आइतबार मतदान हुँदैछ । त्यसैले अहिले देश निर्वाचन प्रचारप्रसारको उत्कर्षमा छ । निर्वाचन आयोगले मंसिर १ गतेसम्म खुला प्रचारप्रसारको समय तोकेको छ ।
यतिबेला दलका शीर्ष नेताहरू आफ्नो चुनावी प्रचार छाडेर पार्टी उम्मेदवारलाई जिताउन ठूल्ठूला सहरमा चुनावी सभा गरिरहेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई आफू जित्न मात्र होइन, दलका उम्मेदवारलाई पनि जिताउनुपर्ने चिन्ता छ ।
त्यही भएर शीर्ष नेताहरू विभिन्न जिल्ला पुगिरहेका छन् । चुनाव प्रचार प्रसारकै क्रममा मतदातालाई फकाउन शीर्ष नेताहरूले अहिले नै मन्त्री, मुख्यमन्त्रीको आश्वासन दिने गरेका छन् । अहिले सत्तारुढ चारदलीय गठबन्धन र एमाले–जसपा गठबन्धन कायम छ ।
दुवै गठबन्धनले आफूले जितेमा कसलाई के बनाउने भन्ने मोटामोटी खाकासमेत तयार गरिसकेका छन् । स्थानीय तहको निर्वाचनको मतपरिणाम र दलहरूको पकडअनुसार नेताहरूले राजनीतिक पद बाँड्न थालेका छन् ।
यसमा सबैभन्दा आकर्षण मुख्यमन्त्री पदमा देखिएको छ । कांग्रेस र माओवादीका नेताहरूले चुनावपछि पनि गठबन्धन हुने बताइसकेका छन् ।
देशव्यापी माहोल हेर्दा फेरि पनि गठबन्धनकै सरकार कांग्रेस नेतृत्वमा बन्ने देखिएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तीन सय २९ पालिका जितेको थियो । त्यसकै प्रभाव यो निर्वाचनमा परेमा धेरै प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्ने अनुमान गरिएको छ ।
अहिलेसम्म तीनवटा प्रदेशमा को मुख्यमन्त्री बन्दैछन् भन्ने संकेत देखिइसकेको छ । नेपाली कांग्रेस बागमती र गण्डकी प्रदेशमा पहिलो पार्टी बनेमा मुख्यमन्त्री कांग्रेसकै बन्ने छ ।
बागमतीमा कांग्रेसका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन् । प्रतिनिधिसभाको सदस्य सजिलै जित्न सक्ने खुबी भएका बानियाँ यसपटक पनि प्रदेश सभामा उठेका छन् । मकवानपुर २ (ख) मा उनले सजिलै चुनाव जित्ने देखिएको छ ।
गण्डकी प्रदेशमा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पाण्डेलाई अबको मुख्यमन्त्री भनेर प्रचार गरिदिएका छन् ।
त्यसैले पाण्डे प्रदेश सभामा उठेका हुन् । सुदूरपश्चिम प्रदेशमा फेरि पनि माओवादीकै मुख्यमन्त्री हु्ने देखिन्छ । यसअघि पाँच वर्षसम्म सो प्रदेशमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए ।
अब माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्ने दौडमा छन् । डडेल्धुराका भट्टलाई मुख्यमन्त्री बनाउने घोषणा प्रधानमन्त्री देउवाले चुनावी सभामै गरिदिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।