काठमाडौं - कहिले भूकम्प त कहिले कोरोना भारइसको महामारीलाई बहाना बनाउँदै चीनले सीमानाकामा नाकाबन्दी गर्दै आएको छ । जसकारण नेपाली व्यापारीहरू चर्को मारमा परेका छन् ।
आफूलाई नेपालको हितैषी ठान्ने चीनले रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको छ । जसले गर्दा चार पाँच वर्षयता नेपालीहरूले निकै ठूलो सास्ती खेप्दै आएका छन् ।
चीनले कोभिड संक्रमण बढेको भन्दै दुई सातादेखि दुवै नाका पूर्ण रूपमा बन्द गराएको छ । यसले गर्दा दसैँका लागि मगाइएको सामान चीनतर्फ अड्किएको छ ।
दशैंका लागि मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका कच्चा पदार्थ, विद्युतीय सामग्रीलगायत सामान सिगात्से, खासा तथा केरुङमा अड्किएका छन् ।
तर, चीनले अहिलेसम्म नाका खोल्नेबारे कुनै चासो देखाएको छैन । चीनले २५ साउनदेखि नाका बन्द गर्दा एक सय ५० कन्टेनर पारि नै अड्किएको नेपाली व्यापारीहरू बताउँछन् । तातोपानी र रसुवा नाका सञ्चालन अनियमित हुँदा चीन र चीन हुँदै तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारको लागत र व्यापार हुने समय बढेको देखिएको हो ।
रसुवा र तातोपानी नाकाबाट आउने सामान भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्र्याउँदा व्यापार लागत प्रतिकन्टेनर एक हजार अमेरिकी डलरसम्मले बढी परेको सरोकारवालाले बताएका छन् । त्यस्तै, उत्तरी नाकाबाट १५ दिनमा नेपाल आइपुग्ने सामान भारत हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने उनीहरूको भनाइ छ ।
करिब अढाई वर्षदेखि नेपाल र चीनबीचका दुवै नाका नियमित सञ्चालन हुन सकेका छैनन् । निर्यात शून्य छ भने आयात पनि आंशिक मात्रै रहेको छ । चीनले तिब्बतमा कोभिड देखिएको भन्दै पछिल्ला दुई सातायता दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ ।
चीनले नाका बन्द गर्दा भारतीय बन्दरगाहबाट आयात गर्दा लागतसमेत प्रतिकन्टेनर एक हजारदेखि १२ सय अमेरिकी डलरसम्म बढी लाग्ने गरेको व्यापारीहरूको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।