काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन् ।
सोमबार बिहान ललितपुर उपमहानगरपालिका–१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा बृक्षरोपण कार्यक्रममा उनले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताए ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताए ।
‘वृक्षरोपणले वातावरण मात्र राम्रो हुन्न, यसले मानव स्वास्थ्यलाई समेत फाइदा पुग्छ,’ बानियाँले भने । उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताए ।
नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।
बानियाँको सो कार्यको वडावासी र टोलवासीले प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताए ।
‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु । ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु । यदि तपाई रातिको समयमा उपत्यका बाहिरबाट हवाई मार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ,’ महर्जनले भने ।
ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको उनले बताए । वडा नम्बर १५ का अध्यक्ष सुरेश शाहीले सडक पिच बनाउन बजेट ल्याइदिन र सडकमा हरियाली बनाउन नेता बानियाँको सहयोगको रहेको भन्दै धन्यवाद दिए ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।