काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार राति न्युयोर्क प्रस्थान गरेका छन् ।
गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलवारदेखि सुरू भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदी लगायतका मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका छन् ।
खड्का बुधवार नै मन्त्री नियुक्त भएका हुन् । नियुक्त भएकै राति खड्का हतारहतार विदेश भ्रमणमा गएका छन् ।
महासभामा परराष्ट्रमन्त्री खड्काले ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दीगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनः जागृत गराउने’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई लगायत सहभागी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।