काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय नखोल्न आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षासँग सरोकार राख्ने निकायबीच बुधवार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिइएको मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
प्रवक्ता पौडेलले विद्यालय खोल्न वा नखोल्ने स्थानीय तहले निर्धारण गर्ने बताउँदै जोखिमको सही मूल्यांकन गर्न आग्रह गरे ।
मन्त्रालयले विद्यालय खोल्नुअघि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्न निर्देशन दिएको उनले बताए ।
स्थानीय तहमा रहेको कोभिड–१९ जोखिम आकलन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ पालना गरेर मात्रा विद्यालय खोल्न मन्त्रालयले आग्रह गरेको छ ।
शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिइएको छ । देशभरका अधिकांश विद्यालयले असोज १ गतेदेखि खोल्ने तयारी गरेका छन् ।
प्रवक्ता पौडेलले विद्यालय खोल्नुअघि परीक्षण र उपचारको समुचित व्यवस्था मिलाउन समेत निर्देशन दिइएको बताए । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने पौडेलले बताएका छन् ।
कोभिड–१९ संक्रमण घटे पनि जोखिम नघटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘सबै पालिकामा एउटै अवस्था छैन, सबै विद्यालयमा पनि एउटै अवस्था छैन,’ प्रवक्ता पौडेलले भने, ‘विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरेर मात्र विद्यालय खोल्नुहोला ।’
छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) र अभिभावक संघको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।