काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गरिराखेपछि सभामुख अग्निप्रसाद सापकोटाले कडा कदम चालेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै वेल घेर्दै नाराबाजी गरेर चिच्याइरहेका एमाले सांसदलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठक अगाडि बढाएका छन् ।
एमालेको विरोधबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
सामान्यतया प्रतिपक्षीले वेल घेरिरहेका बेला संसद बैठक अगाडि बढ्दैन । तर सभामुख सापकोटा कडा रूपमा प्रस्तुत हुँदै बैठक अगाडि बढाएका छन् ।
प्रतिनिधि सभाको नवौं अधिवेशन भदौ २३ गते सुरू भएसँगै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।
विगतमा एमालेमा रहेर बैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै एमालेले सभामुख सापकोटाको विरोध गरिरहेको छ । एमाले पार्टीले गरेको कारवाहीका आधारमा सभामुख सापकोटाले १४ सांसद पदमुक्त भएको सूचना जारी गर्नुपर्ने एमालेको अडान छ ।
यसअघि संसदको अवरोध हटाउन सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक राखेपनि एमाले सहभागी भएन । एमालेले कि १४ सांसदलाई पदमुक्त गर्नुपर्ने कि सभामुख सापकोटाले राजीनामा दिनुपर्ने अडान लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।