काठमाडौं, २८ भदौ - पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख सचेतक विशाल भट्टराईमार्फत मार्गप्रशस्तको सन्देश पठाउन लागिएको जानकारी दिए । ‘सभामुखले बोलाएको बैठकमा अध्यक्षज्यू पनि जानु हुन्न, म पनि जान्नँ । तर प्रमुख सचेतकले सभामुखलाई भेटेर दुइटा सन्देश भने दिनु हुनेछ,’ नेम्वाङले भने, ‘पहिलो एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्नेछ र दोस्रो पदीय जिम्मेवारीविपरीत कार्य गरेकाले सभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने सन्देश दिनुहुनेछ ।’
उनका अनुसार सभामुख सापकोटाले बैठक सञ्चालन गर्नुअगावै भट्टराईले सो सन्देश दिनलाई निर्देशन दिइसकिएको छ । पार्टी गतिविधिविपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेका थियो ।
तर सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाई छ । सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।
एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरे पछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । तर बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ओली र उपनेता नेम्वाङ नजाने बताएका छन् ।
ओली र नेम्वाङ नजाने भएपछि प्रमुख सचेतक भट्टराईमार्फत पार्टीको सन्देशसहित बैठक अगाडि नै सभामुख सापकोटालाई भेट्ने प्रयत्नमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।