काठमाडौं - केही दिनअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा भनेका थिए– ‘सभामुख अग्निप्रसाद सापकोटा जेल जान सक्छन् ।’
एमालेले आफ्नो पार्टी विभाजनको मुख्य दोषी सापकोटालाई नै ठानेको छ । एमाले र सभामुखबीच शीतयुद्ध चलेको छ । आफ्ना १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखले टाँसेको भए एमाले नफुट्ने केपी ओलीको भनाइ थियो ।
त्यही भएर अहिले एमाले सभामुख सापकोटाविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेको छ । एमाले असन्तुष्ट हुनु र सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढ्नुले विभिन्न आशंका र हल्ला चलेको छ ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।
सोही मुद्दाको पेसी रोकिँदै रोकिँदै बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको हो । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।
उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।