चीन – चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानका सहसंस्थापक मुल्लाह अब्दुल घानीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार उत्तरी चीनको तिआनजिनमा भेट भएको हो ।
अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमा लगातार आफ्नो प्रभुत्व बढाइरहेको तालिवानको एक प्रतिनिधिमण्डल चीन गएको थियो ।
चिनियाँ टेलिभिजन सिजिटिएनका अनुसार विदेशमन्त्री वाङले तालिवान प्रतिनिधिमण्डललाई ‘चीनविरोधी’ आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टसँगको सम्बन्ध तोड्न आग्रह गरेका थिए ।
भेटमा वाङले तालिवानले युद्ध बिसाएर शान्ति सम्झौतामा आउने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ । उनले शान्ति सम्झौतामा आएर अफगानिस्तानको पुनर्निर्माणमा तालिवानले भूमिका खेल्नुपर्ने बताएका थिए । यो भेट अफगानिस्तान सरकार र तालिवानबीचको संघर्ष उच्च भइरहेको समयमा भएको हो ।
"तालिवानका प्रवक्ता मोहम्मद नइमले एक ट्विट गर्दै चीन भ्रमणबारे बताएका छन् । यो बैठकमा राजनीति, अर्थव्यवस्था, दुई देशको सुरक्षासँग जोडिएका विषय,अफगानिस्तानको वर्तमान अवस्था र शान्तिप्रक्रियाबारे चार्चा भयो," मोहम्मदले ट्विटमा भनेका छन् । चीनले अफगानिस्तानको आन्तरिक मामिलामा दख्खल नदिने, तर शान्ति स्थापनाका लागि सहयोग गर्ने बताएको उनले ट्विट गरेका छन् ।
अमेरिकासँग व्यापार युद्धमा होमिएको चीनले तालिबानी नेतालाई भेट्नु अर्थपूर्णरुपमा हेरिएको छ । एकातिर चीनले अफगानिस्तानमा शान्तिको कुरा गरिरहेको छ भने अर्कोतर्फ तालिबानी नेताहरुलाई सहयोगको आश्वासन । यसअघि दोहा सम्झौतापछि पनि तालिबानी नेता र चिनियाँ राष्ट्रपतिबीच भेट भएको थियो । चीनले पाकिस्तानमार्फत तालिबानी समूहलाई सहयोग गरिरहेको आरोपसमेत लाग्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।