काठमाडौं - सर्वोच्च अदालतको फैसलापछि एमाले कसरी अघि बढ्छ भन्ने सर्वत्र चासो देखिएको छ । एमाले अध्यक्ष केपी ओलीले आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएका छन् ।
ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल पक्ष जाने नजाने निश्चित भइसकेको छैन । नेता नेपालले आफूपक्षीय नेताहरूसँगको छलफलपछि मात्र निर्णय हुने बताएका छन् ।
तर, पछिल्लो समय केपी ओली निकट हुन पुगेका भीम रावल मंगलबार बिहानै वरिष्ठ नेता नेपालसँग भेट गर्न कोटेश्वर पुगेका थिए । हिजो सर्वोच्च अदालतको फैसलापछि बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका रावल नेता नेपालसँग भेटघाट गर्न जत्था नै लिएर पुगेका थिए ।
सर्वोच्चको फैसलापछि उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखेर एमाले कार्यदलले तयार पारेको प्रस्ताव र सिफारिशमा समर्थन जनाइदिन रावलले नेता नेपाललाई अनुरोध गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार कार्यदलमा रहेका नेता नेपालपक्षीय बहुमत सदस्यहरुको जोड नेपाललाई त्यही १० बुँदे सहमतिमा हस्ताक्षर गराउने भन्ने रहेको छ । तर, अहिलेसम्म नेपालले त्यसमा सहमति जनाइसकेका छैनन् ।
कार्यदलले सहमति र प्रस्ताव गरेको १० बुँदालाई अन्तिम रुप दिन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुनैपर्छ । नेपाल पनि ओलीलाई भेट्ने मनस्थितिमा छैनन् भने ओलीले अब नेपालसँग सँगै बस्ने सम्भावना क्षीण भएको आफू निकटलाई बताउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।