काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा आगामी असार महिनामा पनि निषेधाज्ञा नखुल्ने भएको छ ।
असारमा कर असुलीका लागि सरकारले निषेधाज्ञा खोल्ने चर्चा भइरहेका बेला काठमाडौंका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा १५ दिनसम्म लम्ब्याउने तयारी गरेका छन् ।
कोरोना संक्रमण दर घट्दो भए पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरूले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएपनि असारदेखि केही खुकुलो बनाउने तयारी रहेको छ । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनायता निषेधाज्ञा जारी छ ।
निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाएर काम गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै आएका छन् ।
काठमाडौं उपत्यकाका मेयरहरूको फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समेत उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेर उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने जनाएका छन् । ‘उपत्यकाको संक्रमण दर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्छ,’ उनले भने, ‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ । निषेधाज्ञा एकैपटक नखोली चरणबद्ध रूपमा खुकुलो बनाउँदै लैजानुपर्ने देखिन्छ ।’
एकैपटक निषेधाज्ञा खुकुलो पार्दा फेरि संक्रमण फैलिनसक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुने बताउँदै आएको छ । जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनुपर्ने तयारी गरेका छन् ।
कुन–कुन क्षेत्रलाई खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालासँग छलफल भइरहेको प्रशासन कार्यालयले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले सरोकारवालासँग परामर्श र संक्रमणको समीक्षा गरेर निषेधाज्ञा खुकुलो बनाइने बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले अझै १ हप्ता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ । शुक्रवार बसेको डीसीसीएमसीको बैठकले अझै १ हप्ता निषेधाज्ञा थप गर्ने सुझाव अनुसार १ हप्ता थप गर्ने तयारी प्रशासनले गरेको छ ।
विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ । बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुलेका छन् ।
प्रशासनले निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । तर सवारीसाधन आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन कडाइ गरिने छ । व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजारका केही पसल खुला गर्नेबारे समेत छलफल भइरहेको छ । बजारका भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसल लगायत खोल्न समय निर्धारण गरिने भएको छ ।
राजधानी काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनेबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठक आज आईतबार बस्दैछ । पछिल्लो समय थप गरिएको निषेधाज्ञा भोलि जेठ ३१ गते सोमवार राति १२ बजे सकिने भएको छ । त्यसअघि नै निषेधाज्ञा थपबारे निर्णय हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।