काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गइरहेका बेला लकडाउनको दोस्रो लहर सुरू भएको छ ।
कोरोना संक्रमणको ‘हट स्पट’ मानिएको बाँकेमा जिल्ला प्रशासन कार्यालय वैशाख ९ गतेदेखि विमानस्थल र राजमार्गबाहेक सबै कुरा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको मंगलवार बसेको बैठकले कोरोना संक्रमणको दर उच्च बनेपछि बैशाख ९ गतेदेखि पुनः लकडाउन र प्रतिबन्ध लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जानकारी दिए ।
कोरोना संक्रमण तीब्र रूपमा फैलिन थालेपछि महामारीसँग जुध्न कडा प्रतिबन्धको विकल्प नदेखिएकाले बैशाख ९ गतेदेखि १ हप्ताका लागि प्रतिबन्ध लगाउने निर्णय भएको उनले बताए । बाँकेमा गरिएको लकडाउन दोस्रो लहरको सुरुआत हो ।
सीडीओ गेलालले भने, ‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन–कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौं ।’ विमानस्थल र राजमार्ग खुला राख्ने तथा जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था मिलाउने सीडीओ गेलालले बताए ।
बाँके जिल्लामा हिजो सोमवार एकैदिन ३२२ जना नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि बाँकेका अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएका छन् । बाँकेमा कोरोना पुष्टि हुने दर समेत उच्च रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।