काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएका बेला विद्यालय बन्द गर्नेबारे आएको प्रस्तावमाथि छलफल गर्न शिक्षा मन्त्रालयले राखेको बैठक सकिएको छ ।
बैठकमा कोरोनाको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय नगर्न सुझाव दिइएको छ ।
शिक्षा मन्त्रालयले आज सोमवार आयोजना गरेको छलफलका सहभागीले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने सुझाव दिएका छन् ।
कतिपय सहभागीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न समेत सुझाव दिएका छन् ।
छलफलमा आएका सुझावलाई जस्ताको तस्तै सरकारसमक्ष पुर्याइने र मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय हुने शिक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने सुझाव दिए । ‘कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘संघीय सरकारमा केन्द्रीकृत मानसिकता छ, विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नु हुँदैन ।’
विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने उनले बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले समेत कोरोनाको प्रभावअनुसार क्षेत्रगत रूपमा निर्णय हुनुपर्ने सुझाव दिए ।
सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिएका छन् । विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।